काठमाडौँ । प्रतिपक्षी दलको अवरोधका कारण कर्णाली प्रदेशसभा बैठक बस्न नसकेपछि वार्षिक राजस्व र व्ययको अनुमान पेस गर्ने कार्यसूची प्रभावित भएको थियो।
आइतबार मध्यरातमा प्रदेशसभा बैठक सञ्चालन भएपछि आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेस गरेका हुन्।
कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो। कुल विनियोजनमध्ये चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार अर्थात् २३.६४ प्रतिशत छ। पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् कुल विनियोजनको ६०.५५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख अर्थात् कुल विनियोजनको १.६६ प्रतिशत बजेट छुट्याइएको छ।