काठमाडौं । काठमाडौंबाट सोलुखुम्बु तर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
उक्त बस आज दिउँसो १ बजे ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर ८ बजरङ्गे गाउँस्थित सेतीदेवी मन्दिर नजिकै दुर्घटना भएको हो । बाग्मती प्रदेश०१-००६ ख ५५८१ नम्बरको बस करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ४ जना घाइते भएका छन् ।
घाइतेहरूमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका ३ की ५० वर्षीय कुमारी माया बुढाथोकी, बसका सहचालक ओखलढुङ्गा मानेभञ्जयाङ गाउँपालिका ३ उवुका २५ वर्षीय विनोद अधिकारी, अर्का सहचालक सिद्धिचरण नगरपालिका ८ लगलगेका २८ वर्षीय रोशन गिरी र सुनकोसी गाउँपालिका १ बल्खु बस्ने ४२ वर्षीय सहदेव गिरी घाइते भएका छन् ।
सहचालक दुवै जनाको टाउकोमा चोट लागेको तथा अर्का दुई जनाको करङ तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । निरन्तरको वर्षाको कारण चिप्लिएर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसमा सवारमा घाइतेहरूलाई उपचारको लागि मेडिकल पोलिक्लिनिक रमाईलोडाँडामा उपचार भइरहेको र उनीहरूको अवस्था तत्काल सामान्य रहेको प्रहरीले जनाएको छ ।
बस चालक भने फरार भएका छन् । उक्त बस घटनास्थलबाट निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ ।