काठमाडौँ । भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग २ बुँदे सहमति गरेको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेससँग उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको छ ।
गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग छाडेर सहमतिमा आएको केही दिन बित्न नपाउँदै माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले नेपाली कांग्रेससँग ‘गोप्य’ छलफल गरेर समिति बनाउन तयार भएका हुन् ।
कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच बिहीबार गोप्य छलफल भएको थियो ।छलफलमा समितिको टिओरबारे समेत छलफल भएको स्रोतले बतायो ।
उक्त छलफलमा सहभागी नेताहरू दुवै पक्ष भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमत भएका हुन् । नेताहरूका अनुसार यस विषयमा सत्तामा रहेको अर्को घटक एमालेको पनि सहमति लिइनेछ ।
दुई पार्टीका नेताहरूबीच भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेबारे छलफल भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । उनका अनुसार उच्चस्तरीय समिति मन्त्रिपरिषद्ले गठन गर्नेछ ।