आइतवार, आश्विन १८ गते २०८३

प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच तेस्रोपटक बैठकका लागि समय निर्धारण

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्न तेस्रोपटक आजका लागि समय तोकिएको छ ।

यसअघि दुईपटक मिति तोकेर पनि तीन शीर्ष नेताबीच भेटवार्ता हुन सकेन । बिहीबार दिउँसो २ बजे एमाले, कांग्रेस र माओवादीका प्रमुख नेताबीच वार्ता हुने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको थियो । त्यस्तै बुधबार हुने भनिएको छलफल पनि प्रचण्ड काठमाडौं उपत्यकाबाहिर रहेकाले हुन सकेन ।

आज उनीहरूबीच भेटवार्ताका लागि तेस्रोपटक समय निर्धारण गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार तीन शीर्ष नेताबीच आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल हुनेछ । उनीहरूबीच प्रतिनिधि सभा बैठकमा भइरहेको अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसद् बैठक सञ्चालन गर्न सहमत भइसके पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभामा विरोध जारी राखेका छन् । यी दुई विपक्षी दल भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडानमा छन् ।

माओवादी भने यो मुद्दा छाडेर सत्ता पक्षसँग मिलेको भन्दै आलोचना भइरहेको छ ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार