काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एउटै शैली अपनाएको छ ।
बिहीबारसम्म राप्रपा र रास्वपाको विरोधको शैली फरक थियो । राप्रपाका सांसदहरूले सदनको कामकारबाही बहिष्कार गर्दै आएका थिए । रास्वपाका सांसदहरूले वेल घेराउ र नारावाजी गर्दै आएका थिए । आज (शुक्रबार) रास्वपाका सांसदहरूले समेत प्रतिनिधिसभाको कामकारबाही बहिष्कार गरेका छन् । यो सँगै राप्रपा र रास्वपाको विरोधको शैली मिलेको हो ।
बिहीबार राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएर सबै दलको साझा मुद्दा रहेको बताएका थिए । प्रमुख सचेतक शाहीले भने, ‘यो भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । यो हामी सम्पूर्णको साझा मुद्दा हो, ।’ २०६४ साल देखिको समस्या भएकाले सबै मिलेर समस्या समाधानमा अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।
भिजिट भिसा प्रकरणका सबै दल एकै ठाउँमा रहेर अगाडि बढ्नुपर्ने उनको अपिल थियो । उनले भने, ‘मानव बेचबिखनविरुद्ध हामी एकजुट बनौं । यो कुनै व्यक्तिको कुरा होइन । कुनै दलको मात्रै मुद्दा होइन ।’ जबसम्म भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन हुँदैन तबसम्म संसद् बैठक बहिष्कार गर्ने उनले बताएका छन् ।
शुक्रबारबाट रास्वपाका सांसदहरूले पनि संसद् बैठक बहिष्कार गर्न थालेका हुन् ।