काठमाडौं । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको थियो ।
तर बैठक सुरु हुने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बैठकमा नाराबाजी गरेपछि बैठकको कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइयो । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधि सभाको बैठकमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिकै बैठकबाट फर्किए ।
ओली प्रतिनिधि सभाको बैठकबाट निस्किँदै गर्दा पत्रकारहरूले प्रश्न गरे जवाफ दिन पाउनु भएन नि प्रधानमन्त्री ज्यु ? त्यसको जवाफमा ओलीले भने मजा लाग्यो । शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्नका लागि बारम्बार आग्रह गरेका थिए ।
तर रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहेपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले बैठकमा विरोध गर्दै आइरहेका छन् ।