आइतवार, आश्विन १८ गते २०८३

जाजरकोट भूकम्पबारे प्रचण्ड भन्छन्– मैले अग्रसरता नलिएको भए उद्धार प्रभावकारी हुन्थेन

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिधै प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने बताएका छन् ।

उनले जाजरकोट भूकम्पका बेला प्रधानमन्त्रीको हैसियतमा आफैंले अग्रसरता लिँदा मात्र उद्धार र राहत प्रभावकारी भएको अनुभव सुनाउँदै प्राधिकरणको संरचना परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । आज पार्टीको विपद् व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको ‘नेपालमा विपद्को अवस्था र पूर्वतयारी’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विपद्का बेला सबै सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न प्राधिकरण प्रधानमन्त्री कार्यालय मातहत हुनु नै उत्तम विकल्प भएको निष्कर्ष सुनाएका छन् ।

उनले भने, ‘जाजरकोट भूकम्पका बेला प्रधानमन्त्रीको हैसियतले युद्धस्तरमा लिएको पहलका कारण सबै मन्त्रालय, सुरक्षा निकायका चारवटै अंग र अन्य संघसंस्था स्वतः परिचालित हुन पुगे, प्रधानमन्त्री आफैं अगाडि सरिसकेपछि अरूले विधि, विधान र प्रक्रिया हेरिराख्नुपरेन । यो अनुभवले मलाई के लाग्यो भने प्राधिकरण प्रधानमन्त्री कार्यालय मातहत भयो भने मात्रै यसले प्रभावकारी काम गर्न सक्छ ।’ अध्यक्ष प्रचण्डले विपद् आइसकेपछि मात्र तात्ने तर पूर्वतयारीमा ध्यान नदिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘प्रिभेन्सन इज बेटर द्यान क्योर’ भनेझैँ उपचारभन्दा रोकथाम नै महत्त्वपूर्ण हो, हामीकहाँ विपद् नआउँदासम्म तयारीमा ध्यान नदिने र आइसकेपछि तयारी नपुग्ने र ठूलो क्षतिको सामना गर्न बाध्य हुने संस्कृति छ । यसको अन्त्यका लागि आवश्यक ऐन, कानुन र प्राविधिक तयारीमा जुट्नुपर्छ ।’ उनले आफ्नो पार्टीले विपद् व्यवस्थापन विभागलाई जनसंगठनकै रूपमा विकास गर्ने र सबै भ्रातृ संगठनहरूलाई समेत स्वयंसेवक गठन गरी पूर्वतयारी, उद्धार र राहतका लागि तयारी अवस्थामा रहन निर्देशन दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले अन्य राजनीतिक दलहरूले पनि यस्तै पहलकदमी लिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रस्तुत गरिएका सुझावहरूलाई सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिँदै दाहालले मौसमविद्हरूको पूर्वानुमानअनुसार यस वर्ष मनसुनमा ठूलो विपद् आउनसक्ने खतराप्रति सबैलाई सचेत गराएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार