आइतवार, आश्विन १८ गते २०८३

ऊर्जा, जलस्रोतमन्त्री दीपक खड्का भन्छन्– मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनको लागि अक्सिजन सरह बनेको महसुस भइसकेको बताएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता भइसकेको बताएका छन् । ऊर्जा केवल पूर्वाधारको विषय मात्रै नभई समृद्ध राष्ट्रको मेरुदण्ड रहेको विषयमा दुई मत नरहेको बताउँदै उनले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाएर ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको कर्तव्य भएको कताएका छन् ।

मन्त्री खड्काले भने, ‘ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता परेको कुरा यहाँहरूलाई थाहा नै छ । ऊर्जा अब केबल पूर्वाधारको विषय मात्रै नभएर समृद्ध राष्ट्रको मेरुदण्ड हो भन्ने कुरामा हाम्रो दुई मत छैन, ऊर्जा हाम्रो जीवनको लागि अक्सिजन सरह बनेको कुरा हामीले महसुस गर्न थालेका छौँ । त्यसैले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाउँदै ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु हाम्रो कर्तव्य भएको छ ।’

आगामी दश वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिएका छन् । आन्तरिक प्रयोगको लागि १३ हजार ५ सय मेगावाट र निर्यात प्रयोजनको लागि १५ हजार मेगावाट रहेको समेत उनले जानकारी गराएका छन् । मन्त्री खड्काले भने, ‘२८ हजार ५ सय मेगावाट विद्युत् दश वर्षभित्र पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ । कुल उत्पादनको लक्ष्य २८ हजार ५ सय मेगावाट पुर्‍याउँदै गर्दा आन्तरिक हामीले प्रयोग गर्ने विद्युत् नै १३ हजार ५ सय मेगावाट हुने हाम्रो अध्ययनले देखाएको छ ।’ 

उनले भने, ‘निर्यात प्रयोजनको लागि १५ हजार मेगावाट रहेको छ । १० हजार भारतमा र ४० मेगावाट अहिले बंगलादेशमा निर्यातको लागि सम्झौता भइसकेको छ । बङ्गलादेशको माग र हाम्रो उत्पादनलाई ध्यानमा राखेर १५ हजार निर्यात गर्न सकिन्छ भन्ने अनुमान छ । त्यसै अनुसार काम भइरहेको छ ।’ उनले सरकारको लक्ष्य पछ्याउनको लागि कुल ९८ दशमलव ९ अर्ब डलरको आवश्यकता पर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार