काठमाडौँ । सत्ता गठबन्धनमा फेरि संकट आएको छ । आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित बनेपछि सत्ता गठबन्धनमा संकट आएको हो ।
कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा तिब्र असन्तुष्ट व्यक्त गरिरहेको छ । देउवाले अर्थमन्त्री विष्णु पौडेललाई बजेटका केही प्रावधान तत्काल हटाउन भनेका छन्। सोमबार प्रतिनिधिसभाको आफ्नै कार्यकक्षमा रहेका देउवाले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरेर बजेटमा उल्लेख भएको टेक एन्ड पे को व्यवस्था हटाउन भनेका हुन्।
‘यो तत्काल हटाउनू। यो नहटाए बजेट पास हुने अवस्था हुँदैन। यो राम्रो भएन,’ देउवाले पौडेललाई भनेका थिए। देउवासँगै रहेका कांग्रेसका एक सांसदका अनुसार पौडेलसँग कुरा गरिसकेपछि देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गरेका थिए।
‘तपाईंको जस्तो हुँदैन यहाँ मेरो पार्टीमा त विरोध गर्ने पनि हुन्छन्। यो टेक एन्ड पे को व्यवस्था हटाइएन भने गाह्रो हुने देखियो। यसलाई तत्काल हटाउनुर्पयो अनि मात्रै बजेट पास गरौँ,’ देउवाले चेतावनी दिदैँ भनेका थिए । टेक एन्ड पे को विषयमा सत्तारुढ दल नेपाली कांग्रेसले निजी क्षेत्रलाई समस्यामा पार्न ल्याइएको भन्दै विरोध गर्दै आइरहेका छन्। भोलि बजेट पास गर्ने तयारी छ। बजेट पास गर्न सत्तारुढ दलहरूले ह्विपसमेत जारी गरिसकेका छन्।