काठमाडौँ । अमेरिकाले डिपोर्ट गर्दै मार्च २७ तारिखमा भुटानको पारो विमानस्थलमा पुर्यायो। भुटानले त्यहाँबाट भारत पठायो। भारतबाट अवैध बाटो हुँदै उनीहरू नेपाल प्रवेश गरे। यसरी नेपाल आएका चार जना भुटानी शरणार्थीलाई जरिवाना तिराएर भुटान नै फर्काइदिने निर्णय सरकारले गरेको छ।
अमेरिकाबाट डिपोर्ट भएका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी, ३६ वर्षीय रोशन तामाङ र ३० वर्षीय अशोक गुरुङ तीन महिनाअघि अवैध रूपमा झापा प्रवेश गरेका थिए। लगत्तै पक्राउ परेका थिए। पक्राउ परेका चारै जनालाई अध्यागमन कार्यालय काँकडभिट्टाले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखेको थियो।
दमक नगरपालिका–३ बेलडाँगी शिविरमा बस्दै आएका आशिषका बुवा नारायणकुमार सुवेदीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले शरणार्थीहरूलाई स्थान हद तोकेर प्रहरी कार्यालयबाट स्थानान्तरण गर्न र ६० दिनभित्र अध्यागमन विभागलाई अनुसन्धान सक्न आदेश दिएको थियो।
सर्वोच्चको आदेशले पक्राउ परेको २८ दिनपछि आशिष, सन्तोष र अशोक बेलडाँगीमा र रोशन मोरङ पथरी शनिश्चरेमा स्थानान्तरण भई हालसम्म बसिरहेका छन्। विभागले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा चारै जनालाई जनही ५–५ हजार जरिवाना गराउँदै नेपालबाट डिपोर्ट गर्ने निर्णय भएको अध्यागमन विभागका प्रमुख गोविन्द रिजालले जानकारी दिए।