काठमाडौं । विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान जारी छ । बयान सकिनासाथ सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।
मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बश्याल सहित सरकारी वकिलको टोलीले बहस गर्नेछ । बहसकै लागि अख्तियारले पनि सहन्यायाधीवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ । अख्तियारभित्रै केही सरकारी वकिलहरूको दरबन्दी हुन्छ । सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्नेछन् । अख्तियारले विरलै रूपमा भ्रष्टाचार मुद्दामा बहसपैरवीका लागि स्वतन्त्र कानुन व्यवसायीहरूलाई ‘हायर’ गर्छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको तर्फबाट बहस गर्ने भनी करिव एक सय कानुन व्यवसायीहरूले वकालतनामा भरेका छन् । बहस गर्ने कानुन व्यवसायीहरूका लागि वकालतनामाको फारममा पूर्वप्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका थिए । वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, पूर्वकानुन मन्त्री समेत रहेका गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टिकाराम भट्टराई, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवालीले वकालतनामा भरेका छन् ।
यस्तै, हर्कबहादुर रावल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा, खगेन्द्र अधिकारीले वकालतनामा भरिसकेका छन् । वकालतनामा भरे पनि दुवैतर्फका सबै कानुन व्यवसायीहरू आजको थुनछेक बहसमा सहभागी हुन पाउने छैनन् ।
सीमित समयमा संक्षिप्त बहस गर्नुपर्ने भएकाले दुवैतर्फबाट छानिएका सीमित कानुन व्यवसायीले मात्रै बहस गर्न पाउनेछन् ।