काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथी चारवटा शक्तिले हमला गरिरहेको बताएका छन्। एमालेले राष्ट्रहित र जनताका सवाललाई शसक्त ढंगले उठाँउदा यस्तो हमला भए पनि उनीहरूको स्वार्थ पूरा हुन नदिन एमालेले शसक्त प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ।
एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई आज टोखामा सम्बोधन गर्दै पोखरेलले एमालेलाई राजावादी, माओवादी, समाजवादी भनेर पपुलिस्ट राजनीति गर्नेहरू र विदेशी शक्तिहरूले हमला गरिरहेको बताए।
‘एमालेलाई मुख्यगरी अहिले चारवटा शक्तिले साइवर हमला गरिरहेका छन्। मुख्यगरी उनीहरू सामाजिक सञ्जालमार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन्। राजावादी,माओवादी,समाजवादी पपुलिस्ट र बाह्य शक्ति’ पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पुरा हुने भएकोले उनीहरू हामीमाथि खनिएका हुन्।’
एमाले नभएको भए राजालाई नारयणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरू एमालेविरुद्ध खनिएको उनको दाबी छ।
‘एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चितकालिन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भने, ‘त्यसैले उनीहरू एमाले विरुद्ध खनिएका छन्। राजावादीको गालिबाट हामी बिचलित हुनुहुँदैन। उनीहरूले विरोध गरेपछि बुझ्नुपर्छ हामी सही ठाउँमा छौं।’
एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्युनिस्ट नामका माओवादी र समाजवादी भएको पोखरेलको भनाइ छ। उनले नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरू अघि बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी,समाजवादी र अन्य कम्युनिस्ट नामका पार्टीहरू एमालेमाथि हमला गर्न आउने गरेको बताए।