काठमाडौं । नुवाकोटको ककनीमा कोल्पु खोलाको बाढीले एक जना महिलालाई बगाएको छ भने एक जना घाइते भएका छन् ।
ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन् । बाढीमा परेर उनका श्रीमान ३६ वर्षीय अशोक बलामी घाइते भएको प्रहरीले जनाएको छ । उनको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।
लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उनको खोजी भइरहेको जनाइएको छ । प्रहरीका अनुसार बाढीले थप तीन वटा गोठमा पनि क्षति पुर्याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।
बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेका छन् ।