काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनुबाहेक अरु कुनै उद्देश्य आफूसँग नभएको बताएका छन् । शुक्रबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रको रोग हटाएर एक हुनुपर्ने अहिलेको आवश्यकता भएको बताएका हुन् ।
उनले भने, ‘पार्टीभित्रको रोग पनि हटाउनुछ । पार्टीकै कारणले म सभापति भएँ प्रधानमन्त्री पनि भएँ । यसकारणले यसलाई अझै राम्रो बनाउनुबाहेक मेरो उद्देश्य छैन् । पार्टीलाई एक बनाउनुछ, टिकट एउटाले पाउँछ नपाउने हराउन लागि हाल्छ यो रोग पनि हटाउनुछ ।’ अहिलेको संविधान धेरै राम्रो र समावेशी भएको उनको भनाइ रहेको छ ।
सभापति देउवाले भने, ‘अहिलेको संविधान धेरै राम्रो छ समावेशी छ । एक्लै कुनै पार्टीबाट बहुमत ल्याउन सम्भव नै छैन, यो संविधानलाई थप बलियो बनाउनु छ । अहिलेकै अवस्थामा कुनै पार्टीको बहुमत आउने अवस्था छैन् । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ । माओवादीसँग मिलियो, अहिले एमालेसँग मिलियो ।’