काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको बताएका छन् । यस्तो गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा समेत राखेका छन् ।
आज सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभापति खतिवडाले भने, ‘हामीले जे पास गरेका थियौं त्यसको ठिक मुनि एउटा दफा थपिएर पछिबाट सदनमा गएको हामीले फेला पार्यौं । यो कसको गल्तीबाट भएको छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ ।’
कतिपय सांसदहरुले यसमा समितिको सभापति र सचिवलाई जिम्मेवार रहेको भन्दै कारबाहीको माग गरेका छन् । रास्वपाले त सभापति खतिवडाको राजीनामा नै मागेको छ । माओवादी केन्द्रले भने यस विषयमा छानबिन गर्नुपर्ने माग गरेको छ । खतिवडाले आफूमाथि छानबिन माग गरेका छन् र दोषी देखिए कारबाही भोग्न तयार भएको बताएका छन् । खतिवडाले भने, ‘म आफैंमाथि पनि आवश्यक छानबिन होस् र दोषी देखिए कारबाहीको दायरामा आउन चाहन्छु । यसमा छानबिनका लागि सभामुखलाई नै आग्रह गरेका छौं, ।’
कांग्रेस नेता समेत रहेका सभापति खतिवडाले समितिबाट पास भएको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदा एउटा दफा नै थपिएर आएको भन्दै यसमा छानबिन हुनुपर्ने बताएका छन् । यसलाई संसदमाथि भएको ठूलो प्रहार भन्दै उनले भने, ‘यत्रो ठूलो मिस्टेक कानुन बनाउन काममा कहीँ हुँदैन । त्यसमा हामीले छानबिन गर्नपर्छ भन्ने पक्षमा छौं ।’
उनले छानबिनको प्रक्रिया नबढेसम्म समितिको राज्य व्यवस्था समितिको बैठक नबस्ने बताएका छन् । त्यसैले आजको बैठक पनि स्थगित गरिएको जानकारी उनले गराएका छन् ।