आइतवार, आश्विन १८ गते २०८३

यू–१६ इस्ट जोन कपः नेपालले भुटानलाई २९८ रनले पराजित गरेसँगै नेपाल सेमिफाइनलमा

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । विपिन प्रसाद शर्माको घातक बलिङ र रौनक श्रीवास्तवको विस्फोटक ब्याटिङमा नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगितामा अपराजित नेपालले ४ खेलबाट ८ अङ्क जोड्दै समूह विजेता बनेको हो । यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाली युवा टोलीले समूह चरणको अन्तिम खेलमा भुटानमाथि २ सय ९८ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रन बनाउँदा अलआउट भयो ।

भुटानलाई सस्तैमा रोक्न विपिनले चार विकेट लिए । विपिनले आफ्नो स्पेलमा ६ ओभर मेडन राख्दै चार विकेट लिँदा मात्र ७ रन दिए । सचिन भट्टले सात ओभरमा ५ ओभर मेडन राख्दै १३ रन दिएर २ विकेट लिए । सुयोग भट्टराईले ५ ओभरमा १ मेडन राख्दै १२ रन दिएर १ विकेट आफ्नो नाममा गरे ।

भुटानका लागि शेजाङ दावाले बनाएको १४ रन नै सर्वाधिक रह्यो । ओपनर उग्यान केल्जाङ चोपेलले १० रन थपे । अन्यले दोहोरो अङ्कको स्कोर छुन सकेनन् । नेपालले २२ रन अतिरिक्त रन दिएको थियो । त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको थियो ।

पाँचौँ विकेटका लागि जय थापा र रौनक श्रीवास्तवले १ सय २५ बलमा १ सय ६१ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल तयार गरेको हो । नेपालका लागि रौनकले १ सय ६८ रनको महत्त्वपूर्ण योगदान दिए । उमेर समूहमा रौनकले बनाएको यो नेपालको व्यक्तिगत सर्वाधिक स्कोर हो । उनले १ सय ३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दा सञ्जय दोर्जीको बलमा जिग्मे सम्द्रुपको हातबाट क्याच आउट हुन पुगे ।

जय थापा ६१ रनमा नटआउट रहे । उनले ६७ बलमा ७ चौका प्रहार गरे । सचिन भट्ट ८ रनमा नटआउट रहे । विकेटकिपर श्रीवांस बजगाई ५४ रनमा रन आउट भए । सुगम बुढाथोकीले ३५ रन थपे । ओपनर परिमार्जन यादव २ र प्रसिद्ध जैसी ७ रनमा पेभेलियन फर्किए ।

भुटानका लागि सञ्जय दोर्जीले ३ विकेट लिए । तेन्जिङ जाम्त्सोले एक विकेट आफ्नो नाममा गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार