आइतवार, आश्विन १८ गते २०८३

अनुगमनमा मुख्यसचिव अर्यालले भने– सेवाग्राहीलाई धेरै सास्ती रहेछ

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका छन् । मंगलबार मुख्यसचिव अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका हुन् ।

ती निकायहरूमा पुगेर मुख्यसचिव अर्यालले सेवाप्रवाहका बारेमा जानकारी लिएका छन् । अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले अनुगमनका क्रममा सेवाग्राहीले सेवा पाउन अझै सास्ती खेप्नुपरेको जानकारी पाएको र सुधार्नुपर्ने धेरै कुरा रहेको बताएका छन् । अहिले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि सिस्टम छन् त्यसलाई सरकारले एकीकृत गर्न लागेको अर्यालले जानकारी दिएका छन् ।

उनले भने, ‘अनुगमन गर्दा केही समस्या फिल्डमा देखियो । अहिले हामीले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि हाम्रा सिस्टम छन् त्यसलाई हामी एकीकृत गर्न लागेका छौँ । यसलाई इन्ट्रिग्रेटेड गरेर सबैलाई व्यवस्थीत गर्दैछौँ । अहिले केके समस्या रहेछन्, केके सुधार्नु पर्ने रहेछ, अहिले डेलिभरि कस्तो भइरहेको रहेछ भनेर अनुगमन गरिएको हो । अनुगमनमा नागरिकले धेरै समस्या भोगेको पाइयो ।’

मुख्यसचिव अर्यालले तीन तहका संयन्त्रबीच समन्वय नहुँदा पनि कतिपय सेवाप्रवाहमा कठिनाइ भएको र नागरिकले दुःख पाएको बताएका छन् । उनकाअनुसार तीन तहका सरकारबीच समन्वय गर्नुपर्ने देखिएको छ । उनले मंगलबारको अनुगमनका क्रममा देखिएका केही समस्यालाई तत्काल समाधान गर्नका लागि टेलिफोनबाट निर्देशन दिइएको बताएका छन् ।

सिस्टम सुधार गर्ने विषयमा आगामी वर्ष गर्नुपर्ने काम पनि अघि बढाइने उनको भनाई रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार