आइतवार, आश्विन १८ गते २०८३

गृहमन्त्री भन्छन् : भिजिट भिसामा माओवादीले मात्रै कुरा बुझ्यो

मंगलवार , आषाढ १७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टी बैठकमा गुनासो गरेका छन्। 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा संसद् र सरकारमा पार्टीको भूमिकाको विषयमा जानकारी गराउनेक्रममा यस्तो गुनासो गरेका हुन्।  

'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको विषयलाई लिएर विभिन्न प्रचार भइरहेको छ। यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। केही कर्मचारी र केही निजी क्षेत्रका मान्छेहरूमाथि अनुसन्धान भइरहेको छ। अख्तियारले अनुसन्धान सुरु गर्ने वित्तिकै म संलग्न भएको जसरी प्रचार गरियो,' उनले भने, 'म के निवेदन गर्न चाहन्छु भने यो राजनीतिक संयन्त्रले प्रतिशोध साँध्ने गरी गरेको प्रचारको विषय हो।' 

उनले अख्तियारले सम्बन्धित कार्यालयमा अख्तियारले अनुसन्धान जारी राखेको र आवश्यक दस्तावेज पनि नियन्त्रणमा लिएको सुनाए।  

उनले भिजिट भिसा प्रकरणमा आफू संलग्न नभएको भन्ने बारे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बुझेको तर अरु दलले नबुझेको पनि बताए। 
 
'प्रमुख प्रतिपक्षी दल यसमा कन्भिन्स भएको छ। अरुले कुरा बुझ्नु भएको छैन। राजनीतिक ढंगले अघि बढाउनु उचित हुँदैन,' उनले भने, 'सरकार  सञ्चालनमा कुनै गाह्रो-अप्ठ्यारो छैन।' 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार