आइतवार, आश्विन १८ गते २०८३

देउवालाई अर्जुननरसिंह केसीको प्रश्न– ‘समयमै हुने महाधिवेशन’ को मिति कुन हो ?

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मितिबारे लामो समयदेखि चर्चा परिचर्चा भइरहेको छ । यसै क्रममा केही दिनअघि चितवन पुगेका बेला सभापति शेरबहादुर देउवाले महाधिवेशनको मितिबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ‘समयमै हुने’ भन्दै प्रतिक्रिया दिएका थिए ।

देउवाले ‘समयमै’ भनेपछि कांग्रेसका नेता कार्यकर्ता वृत्तमा त्यो समय कहिले हो ? भन्ने अर्को चासोको विषय बनेको छ । यसै क्रममा चार दिनदेखि चलिरहेको कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि यो प्रश्न उठेको छ । बिहीबार पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले सभापति देउवासमक्ष यो प्रश्न प्रस्तुत गरेका छन् ।

पार्टी बैठकमा १७ बुँदे धारणा राख्दै केसीले भने, ‘बारम्बार केन्द्रीय कार्यसमिति तथा सार्वजनिक रूपबाट समयमै महाधिवेशन हुने अभिव्यक्ति सभापतिजीले दिँदै आउनु भएको छ, त्यो भनिएको समय कहिले हो ? त्यो समय २०८२ मंसिरभित्र हो कि २०८३ मंसिर हो ? वा देशको संविधानले दिएको ६ महिना र विशेष परिस्थिति पनि कुर्ने हो ?’

यदि त्यसो भए ‘स्थानीय निर्वाचनको मुखैमा पार्टीको महाधिवेशन गर्दा त्यसको परिणाम के होला ? के यो सम्भव छ ?’ भन्दै उनले अर्को प्रश्न गरेका छन् । उनले भने, ‘कहिलेकहीँ निर्वाचनपछि महाधिवेशन गर्ने कुरा पनि उठ्छ । त्यो त संविधान र कानुनी रूपबाट सम्भवै छैन, ।’ उनले यस्तो गर्दा पार्टीको वैधानिकतामाथि नै संकट आइपर्ने हेक्का राख्नुपर्ने जरुरी रहेको बताएका छन् ।

केसीले भने, ‘तसर्थ २०८२ मङ्सिरभित्रै महाधिवेशन सम्पन्न होस् । त्यसको निश्चित तिथि यही बैठकबाट तोकिनु अनिवार्य भएको छ, ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार