काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका ५ कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादी युद्ध र आक्रमणका विरुद्ध’मा छिट्टै काठमाडौँमा ठूलो प्रदर्शन गर्ने भएका छन्।
शनिबार माओवादी केन्द्रको कार्यालयमा बसेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा (विप्लव) नेकपा मसाल र नेकपा क्रान्तिकारी माओवादीको बैठकले यस्तो निर्णय गरेको हो।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार प्रदर्शनका लागि ठोस कार्यक्रम बनाउन सबै पार्टीबाट २–२ जना रहनेगरि कार्यदल समेत बनाइएको छ। कार्यदलमा माओवादी केन्द्रबाट देव गुरुङ र लिलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीबाट बलराम बास्कोटा र अर्को एक जना पछि थप हुने, क्रान्तकारी माओवादीबाट परि थापा र अर्को एक जना पछि थप हुनेछ। त्यस्तै नेकपाबाट खड्गबहादुर विश्वकर्मा र चिरण सी छन् भने नेकपा मसालबाट भैरव रेग्मी र अर्को एक जना पछि थपिनेछन्। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी थिए।