काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
बिहीबार छोटो समय बसेर स्थगित भएको बैठक आज पुनः बसेको एकीकृत समाजवादीले जनाएको छ । आजको बैठकमा पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणबारे दिएको जवाफमाथि पनि छलफल हुने एक नेताले बताएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा घोटाला अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको सन्दर्भमा झाँक्रीले नेपालविरुद्ध अभिव्यक्ति दिएकी थिइन् ।
यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीकै प्रदेशस्तरीय कार्यक्रममा उनले पार्टीमा ‘ठूलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ अभिव्यक्ति दिएकी थिइन् । त्यति मात्र होइन,उनले ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’समेत भनेकी थिइन् ।