काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टी विधान दुई चरणमा गर्नु उपयुक्त हुने प्रस्ताव राखेका छन् । कांग्रेसले १५ औं महाधिवेशन अघि विधान संशोधन गर्ने निर्णय गरिसकेको छ । यद्यपि, विधान मस्यौदा समिति भने गठन भइसकेको छैन ।
विधानमा गर्नुपर्ने संशोधनहरूका विषयमा चर्चा चलिरहँदा नेता रिजालले दुई चरणमा संशोधन गर्नुपर्ने विचार राखेका हुन् । महाधिवेशन प्रतिनिधि मात्रै छनोट गरेर सभापति चयन गर्ने गरी पहिलो चरणको संशोधनको प्रस्ताव उनले राखेका छन् । रिजालले भने, ‘पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन गरौँ र, महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ, त्यो सभापतिको तत्काल कार्यकाल सुरु गर्ने होइन । आम निर्वाचन पछाडिको मात्रै कार्यकाल सुरु हुनेछ ।’
उनले दोस्रो चरणमा विधान संशोधन गर्दा त्यसबेलाको सभापतिले आफूले चाहे अनुसारको व्यवस्था अनुसार विधानमा राख्न सक्ने बताएका छन् । उनले केन्द्रीय समिति बैठकमा भने, ‘सभापति हुने व्यक्तिले विधान संशोधनको प्रस्ताव पार्टी लिएर उसले जान्छ । जस्तो पार्टी बनाउन खोजेको हो, जति वटा निर्वाचन बनाउन खोजेको हो, जुन जुन तह राख्न खोजेको हो, त्यही अनुसारको प्रस्ताव होला । आम निर्वाचन सकिएपछि कांग्रेसले बाँकी कामका लागि बाँकी महाधिवेशन गर्छ ।’
रिजालले महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन भयो भने तल तलसम्म गुटबन्दी समेत नहुने दाबी गरेका छन् । उनले तह तहमा हुने महाधिवेशनको तिक्तताले आन्तरिक वैमनस्यता उत्पन्न भई आम निर्वाचनमा पार्टीलाई असर गर्ने बताएका छन् । उनले भने, ‘जुनसुकै गुट चुनाव लडोस्, पार्टी भलो बाटोमा जाँदैन भन्ने मलाई लाग्छ ।’ उनले पार्टीभित्र महाधिवेशन कहिले हुने बहस चलिरहँदा कम्तीमा सय जना सभापतिको दाबीकर्ता देखेको बताएका छन् ।
रिजालले भने, ‘कम्तीमा सभापति उम्मेदवार देखेको छु मैले । पार्टी कसरी बनाउने भन्दा मलाइ सभापति बनाइदिनुस्, बाँकी सबै ठीक हुन्छ भनेर । त्यो भन्दा बढी मैले सुनेको छैन, जुन भाषामा, जुन शैलीमा, जुन भंगिमा बोल्नुभएको छ, सभापति मलाई बनाइदिनुस्, बाँकी भएका सबै समस्या समाधान हुन्छ । अहिले सम्म कहिल्यै नभएको जस्तो पार्टी संगठन बनाउँछु भन्नुभएको छ । त्यसरी पार्टी संगठन बन्दैन ।’