काठमाडौँ । ‘कुलिङ अफ पिरियड’मा गरिएको किर्ते छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक आज बस्ने भएको छ।संघीय निजामती सेवा विधेयकमा राखिएको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधानमा ‘बाहेक’ शब्द घुसाइएको पाइएपछि छानबिनका लागि सभामुख देवराज घिमिरेले सात सदस्यीय समिति गठन गरेका छन्।
जसमा नेपाली कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन्।
उक्त समितिको पहिलो बैठक आज मध्याह्न १२ बजे सभामुखको उपस्थितिमा नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ।
राज्य व्यवस्था तथा सुशसान समितिबाट सर्वसम्मत पास गरिँदा संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा ‘बाहेक’ शब्द थिएन।
तर प्रतिनिधि सभाबाट पास गरिसकेपछि विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रावधान नै निष्क्रिय पार्ने ‘बाहेक’ शब्द राखिएको पाइएपछि विवाद भइरहेको हो।
यसैबीच छानबिन समितिले अनुसन्धान गरी प्रतिवेदन नबुझाएसम्म राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफू समितिका कामरकारबाहीमा संलग्न नहुने घोषणा गरेका छन्।