काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएका नेपालीहरूको बारेमा कसैले अपव्याख्या गर्छ भने त्यो आफ्नो समस्या नभएको बताएकी छिन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रश्न गरेकी छिन्, ‘मेरो भनाइ रेकर्डबाट किन हटाउनुपर्ने ?’ यसअघि मंगलबार बसेको बैठकमा सांसद गौतमले प्रधानमन्त्री सहभागी कार्यक्रममा गएकाहरू नफर्किएको समाचारहरू आएको बताउँदै उक्त विषय गम्भीर भएको बताएकी थिइन् । सो विषयमा नियमापत्ति जनाउँदै एमाले सांसद महेश बर्तौलाले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।
जसबारे आज थप प्रष्ट स्पष्टीकरण दिँदै उनले भनेकी छिन्, ‘प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ । मेरो भनाइ रेकर्डबाट किन हटाउनुपर्ने ?’ उनले सांसदहरूले नेपाल भाषा बुझाइमा समस्या भएका कारण आफ्नो भनाइ हटाउनुनपर्ने त होइन नि ? भन्दै प्रश्न गरिन् ।
सांसद गौतमले भनिन्, ‘सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन । जसको समस्या हो, उसैको उपचार गरियोस्, ।’ आफूले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएकै मान्छे फर्किएनन् भनेर नभनेको पनि बताइन् ।
उनले भनिन्, ‘सभामुख महोदय मैले कहिँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मान्छेहरू फर्किएनन् भनेको छैन । राम्रोसँग काम खोलेर सुन्नुहोस् ।’ उनले आफूले बोलेको कुराको पूर्ण जिम्मेवारी आफैं लिने पनि बताइन् । ‘मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु । यो सत्य हो, प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो ।’
सांसद गौतमले भनिन्, ‘तर, यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रमको बाहनामा गएर फर्किएका छैनन् र उतै बसेका छन् ।’ प्रधानमन्त्री सहभागी उक्त कार्यक्रम निकै ठूलो भएकाले सयौं एनजीको साइड इभेन्ट पनि रहेको बताइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्री जानुभएको कार्यक्रम ठूलो कार्यक्रम हो । दशौं हजार मानिस सहभागी हुने कार्यक्रम हो । सयौं एनजीओका साइड इभेन्ट पनि हुन्छन् । नेपालबाट सयौं मान्छे सहभागी हुन गएका पनि साँचो हो । केही नफर्किएको पनि साँचो हो ।