काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि संयुक्त राज्य अमेरिकामा भिजिट भिसामा गएको सुनेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार गृहमन्त्री लेखकले सत्य तथ्य के हो जानकारी गराइदिन जानकार सांसदहरूलाई आग्रह गरेका छन् ।
गृहमन्त्री लेखकले भने, ‘रवि लामिछाने कुनै समय भिजिटरका रूपमा संयुक्त राज्य अमेरिका जानुभएको थियो रे । यदि भिजिट भिसामा जानु भएको होइन भने के भिसामा जानु भएको हो, सुनेको छु जान्ने साथीहरूले बताइदिए मलाई पनि स्पष्ट हुने मौका मिल्थ्यो ।’ उनले भिजिट भिसामा गएर त्यही देशको ‘सिटिजनसिप’ प्राप्त गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि गरेका छन् ।
गृहमन्त्री लेखकले भिजिट भिसामा गएर उतैको सिटिजनसिप लिएर बसेका र पछि नेपाल फर्किएका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन उपयुक्त नहुने बताएका छन् । उनले भने, ‘भिजिट भिसामा जाने पार्टीका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन उपयुक्त हुन्छ कि हुँदैन ।’
गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग जाने मानिसहरू मन्त्रिपरिषद् बैठकले निर्णय गरेर मात्रै जाने र उनीहरूको भ्रमण सूची पहिला नै मन्त्रिपरिषद् निर्णय अनुसार जानकारी गराइसकिएको बताएका छन् । उनले प्रधानमन्त्रीको भ्रमण दलमा गएका को–को फर्किएनन् सूची दिन आग्रह गरेका छन् । सूची दिन नसक्ने भए कल्पनामा अनुमानमा असत्यका पुलिन्दा नबाँध्न आग्रह गरेका छन् ।
गृहमन्त्री लेखकले भने, ‘साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने को को मान्छे जानु भएको थियो, त्यसमध्ये को फर्किएर आएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो भन्ने मेरो आग्रह छ, होइन भने यस्ता कल्पनामा अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन ।’