काठमाडौं । नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको खोटाङका जिल्ला सभापतिदेखि लुम्बिनीका महामन्त्रीसम्मलाई निलम्बन र निष्काशन गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको असार ९–१५ गतेसम्म बसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेको उम्मेदवारलाई हराउने भूमिका खेलेको भन्दै निष्काशन गर्ने निर्णय गरेको हो ।
निष्काशित हुनेमा तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकुमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता छन् रहेका छन् ।