आइतवार, आश्विन १८ गते २०८३

सहसचिव प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

बुधवार , आषाढ २५, २०८२

काठमाडौँ । विशेष अदालतले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई भ्रष्टाचार मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

मुद्दा दायर हुँदा अख्तियारले उनलाई अदालतमा उपस्थित गराएको थिएन। परियार बुधबार मात्र अदालत उपस्थित भएपछि इजलासमा बयान तथा थुनछेकसम्बन्धी बहस भएको थियो। 

परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ। उनी पछिल्लो समय सूचना तथा प्रशारण विभागका महानिर्देशक थिए। भ्रष्टाचार मुद्दा दायर भएपछि उनी पदबाट निलम्बित भइसकेका छन्।  

महानगरपालिकाका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार