आइतवार, आश्विन १८ गते २०८३

नेपाली कांग्रेस नवलपरासीमा किचलो सुरु, महामन्त्री खनाल र नेता कँडेल कारबाहीमा

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । नेपाली कांग्रेस नवलपरासीमा किचलो सुरु भएको छ । कांग्रेस केन्द्रीय अनुशासन आयोगले संस्थापनइतरका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारबाही गरेपछि नवलपरासीमा किचलो सुरु भएको हो ।

खनाललाई अनुशासन आयोगले कारबाही गरेपछि त्यसको प्रतिक्रिया स्वरूप जिल्ला समितिले संस्थापन पक्षका नेता देवेन्द्रराज कँडेललाई कारबाही गरेको हो । कँडेल पूर्वगृह राज्यमन्त्री समेत हुन् । अनुशासन आयोगमा खनालमाथि कारबाहीको सिफारिस गर्न कँडेलले अगुवाइ गरेको आरोप जिल्ला समितिको छ । खनाललाई भने आयोगले एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

बर्दघाटमा पत्रकार सम्मेलन गरेर जिल्ला कार्यसमितिका कार्यवाहक सभापति विक्रम यादवले केन्द्रीय सदस्य कँडेललाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका छन् । जिल्ला अनुशासन समितिले कँडेललाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो । जिल्ला अनुशासन समितिले वैशाख २९ गते कँडेललाई कारबाही गरेको भए पनि बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त कारबहीलाई अनुमोदन गरेको छ ।

कँडेललाई कारबाही गरिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बर्दघाट नगर समिति, प्रदेश क्षेत्रीय समिति र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समिति र जिल्ला कार्यसमिति नेतृत्व उपस्थित थिए । उनीहरूले खनालमाथिको कारबाही तत्कालै फुकुवा नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार केन्द्रीय समिति हुने निर्णय गरेको बताए ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता तथा प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले विद्यार्थी उमेरदेखि पार्टीमा निरन्तर  योगदान दिएका खनाललाई पार्टीका केही व्यक्तिले प्रतिशोध साँधेर कारबाही गरेको बताए । उनले जिल्लाका सबै निर्वाचित जनप्रतिनिधिहरू खनालको साथमा रहेको सुनाएका छन् । खनालमाथि कारबाहीका लागि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विनोद चौधरीलाई असहयोग गरेको कारण देखाइएको छ ।

कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए । कारबाहीको विषयलाई लिएर संस्थापनइतर सडकमा प्रदर्शनको तयारी गरेपछि यसको विपक्षमा संस्थापन पक्षले विज्ञप्ति जारी गरेर विरोधको कुनंै  कार्यक्रम नरहेको भनेको छ ।

खनालले नेतृत्व गरेको निर्वाचन क्षेत्र नम्बर १ मा विनोद चौधरीले जितेका थिए भने कँडेल राप्रपाका उपाध्यक्ष ध्रुव प्रधानसँग १६ हजार मतान्तरले पराजित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार