काठमाडौँ । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्ध भूमि नगरपालिका वडा नं. ९ वेलनदीमा दुर्घटनामा परेको हो।
बस आफै अनियन्त्रित भई सडकको दायाँतर्फ गएको हो । घाइतेमध्ये तिन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।आइतबार बिहान ४ बजेतिर भएको उक्त दुर्घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।
गम्भीर अवस्थाका तिन जनालाई उपचारको लागि बुटवल रिफर गरिएको छ भने २१ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।