काठमाडौं । गुल्मी जिल्लाको कालिगण्डकी करिडोर सडक फेरि पहिरोले अवरुद्ध भएको छ ।
आइतबार बिहान कालिगण्डकी गाउँपालिका वडानम्बर–६ बर्लवा तथा वडानम्बर–१ गरगरे क्षेत्रमा चट्टानसहितको ठूलो पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार माथिबाट खसेको पहिरोले सडक सम्पूर्ण रूपमा पुरिएकाले सवारी आवागमन ठप्प भएको हो । यसले यात्रु र स्थानीयवासी प्रभावित भएका छन् ।
बाटो खुलाउन इलाका प्रहरी चौकी भुर्तुङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएको छ । टोलीले सडक खुलाउने कार्यमा पहल थालेको र स्थानीय सरकारसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको छ । कालिगण्डकी करिडोर मनसुन सुरु भएसँगै पटक–पटक पहिरोले अवरुद्ध हुने गरेको छ ।
गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेका छन् ।