बुधवार, आश्विन १४ गते २०८३

भोटेकोशीमा आएको बाढीमा बेपत्ता ११ जनाको शव फेला, १७ जना अझै बेपत्ता

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको र १७ जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले आइतवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यो जानकारी दिएका हुन् । उनले भने, ‘अहिलेसम्म ११ वटा शव प्राप्त भएका छन्, कुनै शव पूरा नपाइएर मानव अंग भेटिएका छन् । बेपत्ता १७ जना छन्, घाइते एक जना ।’ उनका अनुसार उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उनले स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जना भएको बताएका छन् । प्राधिकरणका अनुसार बाढीमा परी २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरु बगेको तथ्यांक छ । दुई वटा पुलमा आंशिक क्षति पुगेको छ । उनले तीन वटा हाइड्रोमध्ये रसुवागढीमा धेरै क्षति भएको जानकारी दिएका छन् । इन्जियनर भट्टले स्याफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोमिटर सडक धेरै ठाउँमा क्षति भएको बताएका छन् ।

उक्त सडक खण्डमा ठाउँ ठाउँमा गरेर १ हजार २ सय मिटर सडक पूर्णरुपमा क्षति भएको उनको भनाइ छ । बाढीले पुल बगाएसँगै तत्कालका लागि रसुवा-चीनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार