काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकले पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गरी लेखेका विज्ञप्तिहरू आफ्नो फेसबुकबाट हटाएका छन् ।
उनले आफ्नो फेसबुक वालमा रहेका विज्ञप्तिहरू हटाएर निजी तस्बिरहरू मात्र राखेका छन् । शुक्रबार मात्र प्रहरीले उनलाई अनधिकृत रूपमा पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ भनी विज्ञप्ति निकालेको, सामाजिक सञ्जालमा लेखेको लगायतका विषयमा सोधपुछ गरेको थियो । बिहानै नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, काठमाडौंले दिनभर सोधपुछ गरेको थियो ।
प्रहरीले आयन्दा यसखाले गल्ती नगर्ने वाचासहितको कागज गराएर राति ८ बजेपछि मात्र उनलाई परिवारको जिम्मा लगाएको थियो । ज्ञानेन्द्र शाहलाई अबदेखि श्री ५ महाराजाधिराज नभन्ने, महाराजाधिराज भनेर फेसबुकमा भएका पोस्ट हटाउने, आयन्दा पोस्ट पनि नगर्ने, विज्ञप्ति निकाल्दा पनि यी कुरा उल्लेख नगर्ने कागज गराएर उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
पाठकले शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराजाधिराज’ भनी सम्बोधन गर्दै विभिन्न विज्ञप्ति र पोस्टहरू सार्वजनिक गर्ने गरेका थिए ।