आइतवार, आश्विन १८ गते २०८३

लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मन्त्रीहरू लेनदेनमा मुछिएको विषय उठाउँदै सुशासन आयोगबारे प्रश्न गरेका हुन् ।

उनले भने, ‘कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ? जनताले देशले खोजिरहेको छ । मन्त्रीहरू एकपछि अर्को लेनदेन कान्डमा मुछिएको तथ्य सार्वजनिक भइरहेको छ, नैतिकता छ भने मन्त्रीको राजीनामा आउने पर्ने, बर्खास्त हुनुपर्ने होकि होइन ?’ एमाले–कांग्रेस दुई दल राजावादीलाई तह लगायौँ भनेर भ्रष्टाचारमा लागेको उनको आरोप छ । उनले भने, ‘राजावादीलाई तह लगायौँ भनेको त छट्टुस्यालको कथा पो रहेछ । चिल आयो आयो भनेर तल चल्ला टिप्ने । जनताको ध्यान एक तिर लैजाने दुई पार्टी मिलेर लुट्ने ।’

यसबारे राप्रपाले सदन र सडकबाट प्रतिवाद गर्ने उनको भनाइ छ । उनले सदनमा राप्रपा र रास्वपाले गरिरहेको विरोधलाई गलत व्याख्या गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘भिजिट भिसा प्रकरणमा दुई दलले गरेको विरोधलाई गलत व्याख्या नगरियोस् ।’ उनले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाएका छन् ।

अध्यक्ष लिङ्देनले भने, ‘संसद्को इतिहासमा यो कालो समय हो, दुई दलले विरोध गरिरहँदा संसद् चलाइएको छ । यो सभामुखको कार्यकालको कालो समयमा उल्लेख भएको छ । सभामुखले पहल र छलफल गर्नुपर्‍यो । प्रतिपक्षी दलको आवाजलाई सम्बोधन गर्नका लागि ।’  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार