काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि आफ्नो पार्टी प्रष्ट रहेको बताएका छन् ।
प्रतिनिधिसभामा आज विशेष सम्बोधन गर्दै प्रचण्डले संविधान संशोधनका एजेन्डा समेत सुझाएका हुन् । वर्तमान सरकार बन्दा कांग्रेस र एमालेले संविधान संशोधन गर्ने वाचा गरेको तर, त्यसअनुसार व्यवहार नगरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । साथै संविधान संशोधनका लागि के कस्ता एजेन्डा छन् भनेर पनि प्रस्ताव गरेका छन् ।
प्रचण्डले प्रस्तुत गरेका संविधान संशोधनका ७ बुँदामा भनिएको छ, ‘शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नामाङ्कन, प्रदेशको सीमाङ्कन–पहिचान र अधिकारको सम्बोधन, वित्तिय संघीयता, अझ राम्रो समावेशिता, सामाजिक न्यायमा थप व्यवस्था’ उनले यी एजेन्डामा सरकार संविधान संशोधन गर्ने गरी अगाडि बढे साथ दिन तयार रहेको बताएका छन् । प्रचण्डले भनेका छन्, ‘म सरकारलाई भन्न चाहन्छु, यदि दुई तिहाइ पुगेन भने त्यो जुटाउने काम हाम्रो दलले गर्नेछ । ढुक्कसँगले अगाडि बढ्नुस् ।’
तर, आफ्नो पार्टीको साथ लिनका लागि संविधान जारी हुँदा देखिको असन्तुष्टि सम्बोधन गर्ने गरी संशोधन गरिनुपर्ने अडान राख्ने बताएका छन् । आफूहरूले संविधान जारी हुँदा नै राखेको फरक मत उनले स्मरण गरेका छन् । उनले प्रश्न गरे, ‘संविधान जारी हुँदाका असन्तुष्टि हल हुने गरी संविधानको अग्रगामी संशोधन गर्ने शासकीय स्वरुप, निर्वाचन प्रणाली र प्रदेशको नामाङ्कन, सीमाङ्कन पहिचान र अधिकारको सम्बोधन गर्ने, वित्तीय संघीयता, अझ राम्रो समावेशिता र सामाजिक न्यायको लागि संविधान संशोधन गर्न सरकारसँग हिम्मत छ ?’
यो हिम्मत गर्न सरकारलाई उनको सुझाव छ । तर, प्रचण्डले संविधान संशोधनका लागि प्रस्तुत गरेका एजेन्डाबारे विस्तृत व्याख्या भने गरेका छैनन् । शासकीय स्वरुपमा के गर्ने, निर्वाचन प्रणालीमा के गर्ने, प्रदेशको नामाङ्कनमा के गर्ने, प्रदेशको सीमाङ्कन, पहिचान र अधिकारको सम्बोधन भनेर के भन्न खोजिएको भन्नेबारे प्रष्ट पारेका छैनन् ।
वित्तीय संघीयता, अझ राम्रो समावेशिता र सामाजिक न्यायमा थप व्यवस्थाको विषयमा पनि प्रचण्डले विस्तृत व्याख्या गरेका छैनन् । यी विषयमा संविधान संशोधन गर्न सकिने भनेर विषय मात्रै प्रस्तुत गरेका छन् ।