आइतवार, आश्विन १८ गते २०८३

राजीनामा दिएपछि मन्त्री गुप्ताले भने : कहिलेकाहीँ नखाएको विष पनि लाग्दोरहेछ

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । घुस ‘डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज बिहान पदबाट राजीनामा दिएपछि नखाएको विष लागेको दाबी गरेका छन् ।

राजीनामा दिइसकेपछि उनले फेसबुकमा लेखेका छन्, ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’

कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा थमौती र भूमि आयोग जिल्ला अध्यक्ष बनाइदिने भनी ७८ लाखको घुस मागेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा परेका थिए । एमालेबाट मन्त्री बनेका उनले राजीनामा दिनुपर्ने माग पार्टीभित्रै भइरहेको थियो ।

सोमबार साँझ मात्र मन्त्रिपरिषद् बैठकमा सहभागी भएका गुप्ताले दबाब खेप्न नसेकपछि आज बिहान मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा बुझाइसकेपछि उनले फेसबुकमा लेखेका छन्, ‘विगत केही दिनअघि देखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ विदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दोरहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु । प्रविधिको उच्चतम प्रयोगको सिकार अब अरू कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रूपले आफूलाई सहयोग गर्नुहुनेहरूलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घरदैलोमा आउने प्रण गर्दछु ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार