आइतवार, आश्विन १८ गते २०८३

सभापति देउवा भन्छन्– सेयर निष्कासन रोकिएको कुरा सुनेँ, यसलाई रोक्नु हुँदैन

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रलाइ पनि सहभागी गराउनु जरुरी रहेको बताएका छन् ।

देउवाले भने, ‘अहिले उत्पादन विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो, यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ, लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । लगानीकर्तालाई दुःख दिने भन्नेकुरै छैन, स्वदेशी तथा विदेशी लगानीकर्तालाई पनि नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’

उनले थपे, ‘सेयर निष्कासन रोकिएको कुरा सुनेँ, धितोपत्र बोर्डले चाँडै सेयर निष्कासन गर्नेछ, यसलाई रोक्नु हुँदैन भन्ने मान्यता छ । उर्जा नेपालको लागि अत्यन्त महत्वपूर्ण नेपालको प्रकृतिले दिएको सम्पत्ति हो। उर्जाको विकासका लागि हामी अघि बढ्नुपर्छ । ग्रिन इनर्जीमा ध्यान बढी दिनसक्यौँ भने हामीलाई राम्रो हुन्छ ।’

देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार