देशका उच्चपहाडी र हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराई भेग र मधेस प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना छ।
त्यसैगरी, राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले जारी गरेको नियमित मौसम बुलेटिनअनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै देशका उच्चपहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो र गेग्रेन बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई आग्रह गरेको छ। ठूला र साना नदी, खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण र सरोकार भएका सबै निकायलाई आग्रह गरिएको छ।