बुधवार, आश्विन १४ गते २०८३

एनआरएन् यूकेको अध्यक्षका उम्मेदवार पुडासैनी भन्छन्– जटील लाग्ने मुद्दासमेत समाधान गर्न सक्छु

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । एनआरएन् यूकेको आगामी जुलाई २७ (साउन ११ गते) हुने अधिवेशनमा अध्यक्षमा राजेन्द्र पुडासेनीले उम्मेदवारी घोषणा गरेका छन् ।

बेलायतमा बसेर लामो समयदेखि सामाजिक, शैक्षिक क्षेत्रसँगै श्रमिकको क्रियाशील रहँदै आएका पुडासैनीले आफ्ना एजेण्डासहित सन् २०२५–२७ का लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपाली सम्पत्तिको सुरक्षा, गोर्खा सैनिकको समानताका लागि ऐक्यबद्धता, नयाँ पुस्ताको सहभागिता, नेपाली कला–संस्कृतिको प्रवद्र्धन, विद्यार्थी तथा श्रमिक अधिकारको संरक्षणलगायतका एजेन्डालाई उनले प्रमुख प्राथमिकता दिने बताएका छन् । उनले भने, ‘एनआरएन अभियानलाई एकतामा बाँध्न सके जटिल लाग्ने मुद्दासमेत समाधान गर्न सकिन्छ ।’

नेपालको नुवाकोटबाट २५ वर्षअघि बेलायत गएका पुडासैनी हाल लन्डनमा बसोबास गर्छन । उनी बेलायतको प्रतिष्ठित विश्वविद्यालयबाट एमबीए तथा बीएससी अनर्स गरेर हाल १५ वर्षदेखि एनएचएस (नेशनल हेल्थ सर्भिस) मा कार्यरत छन् ।  विद्यार्थी जीवनदेखि नै नेतृत्वदायी भूमिकामा रहेका उनले नेपालमा काठमाडौंको ठमेलमा रहेको सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति भएर काम गरिसकेका छन् ।

बेलायतमा पनि उनी ट्रेड युनियन आन्दोलनमा अग्रपंक्तिमा छन् । हाल जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थका सचिव रहेका पुडासैनी यति नेपाली एशोसिएसन यूकेका पूर्व महासचिव र प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्षसमेत भइसकेका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समिति सदस्यको रूपमा पनि उनले कार्यकाल बिताइसकेका छन् ।

पुडासैनी भन्छन्, ‘मलाई विश्वास छ, नेपाली समुदायलाई एकताबद्ध बनाउने प्रयासमा मेरो यात्राले सार्थकता पाउने छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार