काठमाडौं । रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ ।
बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको उपचारका लागि हेलिकप्टरमार्फत केएमसी अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । वर्षाको कारण सडक राम्रो नभएकोले सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर सुनुवारलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार रजिनले एलिसाको ढाडमा खुकुरी प्रहार गरेका थिए । उनको अवस्था नाजुक छ । खुकुरी प्रहारपछि फरार रहेका रजिन भाग्दै गरेको अवस्थामा उमाकुण्डकै भुजी भन्ने ठाउँबाट पक्राउ परेका छन् । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएका छन् ।
प्रहरीले कारण के हो खुलेको छैन, भर्खरै जिल्ला ल्याइपुर्याएका छौं, थप अनुसन्धान भइरहेको छ ।