अध्यक्ष श्रेष्ठले स्वास्थ्य अवस्था असहज रहेको र पार्टी गतिविधिमा पूर्ण रूपमा सक्रिय हुन असमर्थ रहेको कारण देखाएर कार्यबाहकको जिम्मेवारी दिएकी छन् ।
पूर्वमन्त्री श्रेष्ठ घुसकाण्ड विवादमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएकी छन्, त्यसयता पार्टीभित्र उनको आलोचना बढेको छ । घुस प्रकरणमा अध्यक्ष श्रेष्ठले सार्वजनिक प्रस्टीकरण दिएकी छैनन् ।
यसअघि नाउपाका बहुमत केन्द्रीय सदस्यले २४ घण्टाभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गर्दै अध्यक्ष श्रेष्ठलाई अल्टिमेटम दिएका थिए । बैठक नबोलाए केन्द्रीय समिति बैठक गरेर निर्णय लिने चेतावनी दिइएको थियो । तर अध्यक्ष श्रेष्ठले बैठक नबोलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकेकी छन् ।
‘नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा (४) अनुसार पार्टीका वरिष्ठ नेता श्री शिव बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ,’ कार्यबाहक अध्यक्ष तोकिएको पत्रमा उल्लेख छ, ‘तपाईंले पार्टीको विधानको अधीनमा रही अध्यक्षको रूपमा सम्पूर्ण अधिकार तथा कर्तव्यहरू निर्वाह गर्नुहुनेछ र पार्टीका गतिविधिहरूलाई सफलतापूर्वक अगाडि बढाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
केन्द्रीय सदस्यहरूको माग सम्बोधन नगरी पन्छिएर अध्यक्ष श्रेष्ठले कार्यबाहक तोकेपछि विवाद बढ्ने देखिएको नाउपा स्रोतले जनाएको छ ।