आइतवार, आश्विन १८ गते २०८३

बागमती प्रदेशका खानेपानीमन्त्री श्यामकुमार खड्काले राजीनामा दिए (पत्रसहित)

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका मन्त्रीले राजीनामा दिएका छन् ।

खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले मंगलबार बिहान कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुरसिंह लामासमक्ष राजीनामा बुझाएका हुन् । खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ । यससँगै बगमती सरकारबाट राजीनामा दिने कांग्रेस मन्त्रीको संख्या ५ पुगेको छ ।

यसअघि साउन ९ गते प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए । उनीहरूले राजीनामा दिए पनि सोही दिन साँझ मुख्यमन्त्री लामाले पदमुक्त भएको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएका थिए ।

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा आफ्नै २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन् । कांग्रेस संसदीय दलभित्रको विवाद समाधानका लागि पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले सोमबार मध्याह्नदेखि नै लामा र सांसद इन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरिरहेका छन् ।

कांग्रेस संसदीय दलको १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्म बस्न सकेको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार