काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका २ मन्त्री सवार सरकारी गाडी एकआपसमा ठोक्किँएर दुर्घटना भएको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की सवार गाडी ठोक्किएर दुर्घटना भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कैलालीको चिसापानीमा आयोजना गरिएको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको विद्युत्गृहको उद्घाटन कार्यक्रममा सहभागी हुन गइरहेका दुवै मन्त्री सवार गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
लम्कीमा भौतिकमन्त्री पाल चढेको गाडीलाई कानुनमन्त्री सार्की चढेको गाडीले पछाडिबाट ठक्कर दिएको हो । भौतिकमन्त्री सवार गाडीका चालकले ब्रेक लगाएपछि पछाडिबाट आइरहेको कानुनमन्त्री सवार गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । मन्त्री सार्की से १ झ ३३० र पाल ब २ झ १४१९ नम्बरको गाडीमा सवार थिए ।
दुवै गाडी क्षतिग्रस्त भए पनि गाडीमा रहेका मन्त्रीसहित सबैको अवस्था सामान्य रहेको कैलाली प्रहरीका प्रवक्ता डीएसपी राजकुमार सिंहले बताएका छन् ।