मंगलवार, आश्विन १३ गते २०८३

रसुवाको भोटेकोसीमा फेरि ठूलो बाढी, तिब्बत क्षेत्रमा हिमताल फुटेको आशंका

बुधवार , श्रावण १४, २०८२

काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा गएराति फेरि ठूलाे बाढी आएको छ। 

गएराति दुई बजेदेखि भोटेकोसीमा ठूलो बाढी आएको हो। बाढीले सडकमार्गमा व्यापक क्षति गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले जानकारी दिए। 

‘गएको असार २४ गते आएको जत्रै ठूलो बाढी आएको छ,’ डीएसपी शाहीले  भने, ‘बाढीले ७/८ ठाउँमा सडक बगाएको छ।’ बाढीले सडक बगाउँदा पासाङ ल्यामु सडकखण्ड अवरुद्ध भएको उनले बताए। ‘स्याप्रुवेसीदेखि टिमुरे-रसुवागढीसम्मका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ,’ शाहीले भने, ‘अहिले यो सडकखण्ड पूर्णरुपमा सडक अवरुद्ध। झण्डै सात-आठ ठाउँमा सडक बगाएको छ। क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन।’

असार २४ गते आएको बाढीले बगाएको सडक मर्मत गरेपछि त्यस क्षेत्रमा केही दिनअघिबाट मात्रै गाडी चल्न थालेका थिए।  मर्मत गरेको र नयाँ ठाउँमा पनि बाढीले सडक कटान गरेको शाहीले बताए। रसुवा क्षेत्रमा पानी नपरे पनि भोटेकोसीमा ठूलो बाढी आएको हो।

‘गएराति रसुवा क्षेत्रमा ठूलो परेको छैन,’ उनले भने, ‘तिब्बततिर भएको वर्षाले यो बाढी आएको हो कि हिमताल फुटेर आएको हो, अहिले भन्न सकिने अवस्था छैन। तर, बाढी असार २४ कै जत्रो छ। तिब्बत क्षेत्रमा कतै हिमताल फुटेको पनि हुनसक्छ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार