आइतवार, श्रावण २४ गते २०८३

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठमा चीनलाई ७० किलोको बुद्धमूर्ति उपहार

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा नेपालले चीनलाई ७० किलोको बुद्धमूर्ति उपहार दिएको छ ।

युनान प्रान्तको कुनमिङमा शुक्रबार आयोजित एक विशेष समारोहमा नेपाल–चीन कार्यकारी परिषद् (एनसीईसी)ले युनान बौद्ध संघलाई सुनको जलप लगाइएको बुद्धमूर्ति हस्तान्तरण गरेको हो । समारोहलाई सम्बोधन गर्दै एनसीईसीका अध्यक्ष अनुप भट्टराईले भने, ‘कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको यो खुसीको अवसरमा कुनमिङको युआनतोङ मन्दिरमा भगवान बुद्धको ७० किलोको सुनको जलप लगाएको मूर्ति प्रस्तुत गर्न पाउँदा खुसी छौँ ।’

एनसीईसीका अनुसार, नेपाली कारिगरहरूले लगभग आठ महिना लगाएर यो मूर्ति निर्माण गरेका थिए । भट्टराईले भने, ‘बौद्ध धर्म नेपाल र चीनबीचको साझा आध्यात्मिक सम्पदा मात्र होइन, पारस्परिक सम्मान, क्षेत्रीय सद्भाव र शान्तिपूर्ण सहअस्तित्वको दृष्टिकोणलाई बढावा दिने सांस्कृतिक कूटनीतिको स्तम्भ पनि हो ।’ कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसरमा एनसीईसीले बेइजिङको ग्रान्ड बेल मन्दिरमा पाटन प्यालेस स्क्वायरमा रहेको ग्रान्ड बेलको ६० किलोको प्रतिकृति पनि प्रस्तुत गरेको थियो ।

बुद्धको मूर्ति ग्रहण गर्दै युनान बौद्ध संघका अध्यक्ष मास्टर सिनमिङले भने, ‘यस पवित्र उपहारले दुई राष्ट्रको पहाडहरूले एकताबद्ध बनाएको र नदीहरू साक्षी रहेको युगौँ पुरानो प्रतीज्ञालाई सम्मान गर्दछ, यसको पवित्र रूपले नेपाली कारीगरहरूको धार्मिक शिल्पकलाई मूर्त रूप दिन्छ र चीन र नेपाल बीचको गहिरो बौद्ध मित्रतालाई प्रतिविम्बित गर्दछ ।’ युनान चीनको एक मात्र त्यस्तो प्रान्त हो, जहाँ हान, तिब्बती र थेरवाद बौद्ध धर्म सहअस्तित्वमा छन् ।

सिनमिङले भने, ‘भौगोलिक निकटता, जातीय नाता र बौद्ध आत्मीयताको अद्वितीय लाभकारी सम्बन्धले सम्पन्न, यो लामो समयदेखि दक्षिण र दक्षिणपूर्व एसियालाई जोड्ने बौद्ध संस्कृतिको केन्द्र र बेल्ट एन्ड रोडमा जनता–जनताको सम्बन्धको न्यानो पुल रहेको छ ।

यस अवसरमा बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख रोशन खनालले युनान प्रान्तको सबैभन्दा भव्य र महत्त्वपूर्ण बौद्ध मन्दिरमा स्थापना गर्नाले मूर्तिको महत्तालाई अझ समृद्ध बनाएको टिप्पणी गरिन् ।

नेपाली जनताबाट प्राप्त यो बहुमूल्य उपहार नेपाल–चीन मित्रताको प्रतीकको रूपमा युनानमा सधैँ उभिरहने उनको भनाइ छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार