मंगलवार, आश्विन १३ गते २०८३

गुण्डा नाइके चक्रे मिलन समुहका २८ जना छुटे, १९ जनालाई म्याद थपका लागि लगियो

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटी मनाउँदा गएराति पक्राउ परेकामध्ये २८ जना छुटेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा समातिएकामध्ये उनीहरुलाई छाडिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चक्रे मिलनसहित १९ जनालाई भने अभद्र व्यवहारको कसुरमा थप अनुसन्धानका लागि म्याद लिन पठाइएको छ । पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरुको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था रहेको छ ।

म्याद थप्न लगिएकाहरुमा गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का रहेका छन् । त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन् ।

मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको थियो । पक्राउ परेका अन्य कोही होटलमा आएका ग्राहक समेत भएको पाइएको र कतिपय असंलग्न व्यक्ति भएको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार विभिन्न प्रकृतिका मानिसहरु पक्राउ परेका थिए, त्यसमध्ये स्क्रिनिङ गरेर अरुलाई छाडिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार