आइतवार, आश्विन १८ गते २०८३

साथीहरूले मेरो पहिलो निर्वाचनमा ४३ हजार रुपैयाँ चन्दा उठाए : प्रधानमन्त्री ओली

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचन लड्ने बेलामा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन् ।

आइतबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागीहरूले नेपालको निर्वाचन प्रणाली महँगो हुँदै गएको, कालोधनलाई सेतो बनाउने काम निर्वाचनमा हुने गरेको लगायतका तर्कसहितका धारणा राखेका थिए । त्यसप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले ०४८ सालमा आफूले पहिलोपटक झापाबाट निर्वाचन लडेको र उक्त निर्वाचनमा साथीहरूले ४३ हजार रुपैयाँ चन्दा उठाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनको बारेमा विद्वान मित्रहरूले भनेको कुरामा एकाध ठाउँमा च्यालेन्ज गर्न मन लाग्यो । म आफैं निर्वाचन लडेर आएको छु । मेरो निर्वाचन ०४८ सालमा ४३ हजार रुपैयाँ साथीहरूले चन्दा उठाएका थिए, २१ हजार निर्वाचनमा खर्च भयो । बसको छतमा बसेर हिँड्दा साथीहरू खसे । दुई जनाको उपचार गर्दा १२ हजार खर्च भयो । १० हजार रुपैयाँ चुनाव पछि बचत रह्यो पार्टीकै कोषमा ।’

उक्त चुनाव हुने बेलामा आफ्नो पार्टीको महासचिव माधव कुमार नेपाल रहेको र नेपालले खर्चस्वरुप आफूलाई २ सय रुपैयाँ दिएको प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताए । ओलीले भने, ‘त्यस चुनावमा हाम्रो पार्टीको महासचिव माधव कुमार नेपाल हुनुहुन्थ्यो । उहाँले बाटो खर्च भनेर २ सय दिनुभएको थियो । चुनावमा जाँदा १ सय ८० रुपैयाँ बस भाडा र बीचमा खाना खानका लागि २० रुपैयाँ, एउटा साथी भेटियो उसले मैले तिर्छु भनेर खानाको पैसा पनि उसैले तिर्‍यो । २० रुपैयाँ बच्यो ।’

उक्त बचेको २० रुपैयाँ चुनाव सकिएपछि साथीहरूसँग बसेर चिया पिएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘चुनाव सकिएपछि ५/७ जना साथीहरू भेट भएको थियो । तपाईंले एक कप चिया पनि नखुवाइ चुनाव सक्ने र विजयी भएर जाने, यो त ज्यादती नै भयो भने, तर, मलाई पार्टीले दिएको २० रुपैयाँ मेरो खल्तीमा सुरक्षित नै छ भनेँ । पाँच सात जनालाई चिया खान पुग्छ भनेर हामीले खाएका थियौं ।’ प्रधानमन्त्री ओलीले आफू नेपालका आम निर्वाचनमा दुई पटक सर्वाधिक मत ल्याएर जितेको मान्छे भएको भन्दै स्वच्छताका साथ पनि चुनाव जित्न सकिने जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘दुईवटा आम निर्वाचनमा नेपालमा सर्वाधिक भोट ल्याएर जितेको मान्छे मै हुँ । कुनै प्रकारको अपफियर चिज नगरी, बुथ कब्जा नगरी, कसैलाई धम्की नदिई, अनुचित क्रियाकलाप नगरी स्वच्छताका साथ जनताले भोट दिएर जितेको हुँ । धन र बलको प्रयोग बिना जितेको हुँ ।

उनले थपे, ‘सञ्चारमाध्यममा लाइभ गइरहेको छ, म भनिरहेको छु । कसैले असत्य प्रमाणित गर्न सक्छ भने, अहिलेसम्मका कुनै निर्वाचनमा मैले कतै बुथ कब्जा गरेको भए, नियम उल्लंघन गरेको भए कसैले मलाई औंलो ठड्याउन सक्छ भने हेरौं । रिस उठेर गाली गर्ने कुरा बेग्लै हो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार