काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन् ।
आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनैकसर बाँकी नराख्न सिआइबीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले भने, ‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तिव्रता दिन आग्रह गर्छु, नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’
उनले सिमित स्रोत साधनका बिच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै सिआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताएका छन् । मुलुकमा पछिल्लो समय बित्तिय अपराध बढेकाले आफूले बित्तिय अपराध नियन्त्रणका लागि बित्तिय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिएका छन् ।
उनले भने, ‘प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुदै आएको छ । प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको भन्दा चालु आर्थिक बर्षमा तुलनात्मक रुपमा बजेट बढी बिनियोजन गरिएको छ ।’ प्रहरीभित्र सिआइबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पुरा गर्न प्रविधि, जनशक्ति लगायतका विकास गरिनेमा जोड दिएका छन् ।
सो क्रममा सिआइबीका बरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौती लगायतका विषयमा प्रस्तुती राखेका थिए । बरिष्ठ उपरीक्षक बोगटीले सिआइबीले निर्मला पन्त प्रकरणका साथै अरु घटना सम्वन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरित्त महारिक्षक चन्द्रकुवेर खापुङ् लगायत सिआइबीका कार्यरत प्रहरी अधिकारी सहभागी भएका थिए ।