काठमाडौं । अविरल वर्षासँगै आएको भेलले गुल्मीको डहरे खोलाले कार बगाएको छ । सत्यवती गाउँपालिका वडानम्बर–६ उर्लीखोला स्थित डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ जाँदै गरेको बीएए००१७ नम्बरको कार बगाएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान डहरे खोलाले बगाएर कार ५० मिटर तल पुर्याएको थियो । स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । खोलाले बगाउँदा कारमा क्षति पुगे पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । पक्की पुलको अभावले यस क्षेत्रका नागरिकले वषौंदेखि सास्ती खेप्दै आएका छन् । आइतबारदेखि गुल्मी लगायतका ठाउँमा निरन्तर वर्षा भइरहेको छ । वर्षातले डहरे खोलामा पानीको बहाव बढेकोले सडक अवरुद्ध हुँदै आएको थियो ।
डहरे खोला हुँदै वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुटने सावरीसाधनहरू वर्षातको समयमा खोला बढ्दा बाटोमै घण्टौं कुरेर यात्रा गर्नुपर्ने बाध्यता छ । रिडीदेखि वामिटक्सार सम्मको सडक अन्तर्गत चार स्थामा पक्की नहुँदा वर्षातको समयमा सवारी साधनहरूले सास्ती खेप्दै आएको छ । सडक सुचारु भएको वषौं बित्दा समेत डहरे खोलामा पुल नहुँदा खोला तर्ने क्रममा सवारीसाधनहरू बगाउने समेत गरेको छ ।
सडक डिभिजन कार्यालय पाल्पा मार्फत सत्यवती गाउँपालिकाको नादेवा खोला पुलशाहाघाट, सत्यवतीकै डहरे खोला पुल, सत्यवती र चन्द्रकोट गाउँपालिकाको भार्से खोला पुल चोरकाटेमा निर्माण कार्य भइरहेको छ ।