काठमाडौं । ललितपुरमा प्रेमिको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी घर भएकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि उनका प्रेमी ललितपुरकै इमाडोलका १८ वर्षीय आर्यन पाण्डेलाई पक्राउ गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरु प्रेमिप्रेमिका रहेको खुलेको छ । किशोरीको मृत्युपछि किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
किशोरसँगै हुँदा बेहोस भएकी किशोरीलाई बुधबार उपचारको लागि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो । त्यहाँ पुर्याउँदा चिकित्सकले उनको पहिल्यै मृत्यु भइसकेको पुष्टि गरेका थिए । प्रहरीका अनुसार ती किशोरी बुधबार दिउँसो करिब १२ बजे आफ्ना प्रेमी इमाडोल बस्ने पाण्डेको घरमा गएको खुलेको छ । सामाजिक सञ्जालमार्फत चिनजान भएपछि उनीहरु केही महिनायता प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रेम सम्बन्ध बढ्दै गएपछि उनीहरुले भेट्ने सल्लाह गरेका थिए । त्यसपछि किशोरी पहिलो पटक प्रेमीको घर पुगेकी थिइन् । बुधबार दिउँसो दुई जना कोठामा बसिरहँदा किशोरी दिउँसो २ बजेतिर एक्कासी बेहोस भएको किशोरले प्रहरीलाई जानकारी गराएका छन् । बेहोस भएपछि ती किशोरले आफ्ना बुबालाई खबर गरेका थिए ।
खबर गरेपछि पुगेका किशोरका बुवाले किशोरीलाई किष्ट अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । घटनापछि किशोरलाई प्रहरी वृत्त सातदोबाटोबाट गएका प्रहरीले पक्राउ गरेका छन् । सातदोबाटो प्रहरी हिरासतमा राखेर उनीमाथि घटनाबारे थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
पोष्टमर्टम रिपोर्ट आएपछि मात्रै मृत्युको खास कारण खुल्ने प्रहरीको भनाइ छ । किशोरीले किशोरलाई दिएको ‘लभलेटर’ पनि घटनास्थलमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु कक्षा १२ मा पढ्ने विद्यार्थी भएको पनि जानकारी दिएको छ ।