काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी पाँच सय रुपैयाँमा बेचिएको पुष्टि भएको छ ।
पशुपति आर्यघाटमा काम गर्ने घाटे गणेश ढकालले आफूलाई मधेस मुलका देखिने एक व्यक्तिले चार सय रुपैयाँ दिएर जलाउँदै गरेको शवको सानो टुक्रा हड्डी मागेको बयान दिएका हुन् । उनले त्यही काम गर्ने एक जना युवकलाई त्यो हड्डी कपुरको भाँडोमा हालेर पठाएको र ती युवकले पनि एक सय रुपैयाँ पाएको बताएका छन् ।
ती हड्डी किन्ने व्यक्ति बारे आफूलाई जानकारी नभएको उनको बयान छ । शुक्रबार पक्राउ परेका ढकालसँग आइतबार गौशला प्रहरी वृत्तले सोधपुछ गरेको थियो । त्यसक्रममा आफूले चार सय रुपैयाँको प्रलोभनमा परेर यस्तो काम गरेको बताएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।
ढकालले बयानमा भनेका छन्, ‘मलाई चार सय रुपैयाँ दिएर एउटा टुक्रा हड्डी भगवानलाई चढाउन भनेर मागे । मैले कपुरको भाँडोमा हालेर सहयोगी भाइलाई दिएँ । उसले पुर्याइदिएपछि एक सय रुपैयाँ पायो, सानो हड्डी हो भगवानलाई चढाउनका लागि भनेर मागेपछि दिएको हो । यसअघि यस्तो काम गरेको थिइनँ ।’
ढकाल २०५५ सालदेखि पशुपति आर्यघाटमा काम गर्दै आएका छन् । सुरुमा एउटा शव जलाएको चार सय रुपैयाँ लिने गरेकोमा अहिले १५ सय रुपैयाँ लिने गरेको उनको भनाइ छ । शुक्रबार काभ्रेपलान्चोकको बनेपा नगरपालिका ९ का राम शाहीको शव जलाउने क्रममा आफन्तले अस्तु निकाली दिन भनेका थिए । तर ती घाटे ढकालले अस्तु दिनुपहिले नै त्यसरी हड्डी निकालेर दिएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शुक्रबार उनलाई र ती हड्डी लगेर दिने सहयोगीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । आइतबार सार्वजनिक बिदा भएकाले सोमबार अदालतमा उपस्थित गराएर म्याद थप गर्ने प्रहरीको तयारी छ ।